img

किशोरकिशोरीहरूको यौनिकता

किशोरावस्था भनेको जोश, जाँगर र उत्साहले भरिएको जीवनको एउटा अवस्था हो । नयाँ कुरा सिक्न उत्सुक र सिकेको कुरा तुरुन्तै व्यवहारमा उतार्न खोज्ने उर्जनशील समय हो यो । यो समयमा शरीरका अङ्गहरूको बृद्धि र विकास जोडतोडले भैरहेको हुन्छ। यौनाङ्गहरू पूर्ण रूपमा विकास हुन थाल्दछन् । यौन हर्मोनहरू निस्कन थाल्छन् । ती हर्मोनहरूको कारण यौन चाहाना, जिज्ञासा र यौन क्रियाकलापमा सहभागी बन्ने जोश चल्छ ।

 

शरीरको वृद्धि विकाससँगै भएको यौनाङ्गहरूको बृद्धि विकास र मानसिक रूपमा आउने परिवर्तनहरूका कारण सोचाइमा आरोह अवरोह आइरहन्छन् । भविष्य कस्तो हुने हो भन्ने चिन्तासँगै वर्तमानमा भैरहेको परिवर्तनलाई ठीक ढंगले विश्लेषण गर्न नसक्ने अवस्था हुन्छ । पारिवारिक संस्कार, बुवा आमा भन्दा साथीभाईहरु प्यारा हुन्छन् । साथीहरूप्रति आकर्षित हुने, घुम्न जाने, यौन क्रियाकलापमा संलग्न हुन चाहनाको उत्कट इच्छा हुन्छ । आफ्नै यौनाङ्गहरू खेलाउदा आनन्द आउने हुन्छ । त्यसैले उनीहरू हस्तमैथुन गर्छन् ।

 

हस्तमैथुन गर्दा लिङ्गबाट वीर्य र यौनीबाट यौनीरस निस्कन्छ । वीर्य निस्कनु वा यौनीबाट चिप्लो पदार्थ निस्कनु भनेको यौनाङ्गहरू पूर्ण विकास भएको सकरात्मक संकेत हो । यौन क्रियाकलापमा भाग लिन सक्षम भएको प्रमाण हो । तर यसलाई सकरात्मक रूपमा लिन सक्ने ज्ञान र सीपको विकास हुनु जरुरी छ । हाम्रो जस्तो मुलुकमा हस्तमैथुन गर्नुलाई नकरात्मक रूपमा लिइन्छ । सामान्य रूपमा शरीरमा भैरहेको परिवर्तनलाई बुझ्न नसक्दा हस्तमैथुन प्रति भ्रम छ । पुर्वीय दर्शनमा हस्तमैथुनको बैज्ञानिकतालाई बुझ्न नसक्दा हस्तमैथुन गर्यो भने लिङ्ग बाङ्गो हुने, सन्तान उत्पादन क्षमता गुम्ने, दिमागको विकास नहुने जस्ता कुराहरू उल्लेख गरेको पाइन्छ । तर अहिलेसम्मको बैज्ञानिक अनुसन्धानले हस्तमैथुनको बेफाइदा देखाउन सकेको छैन । हस्तमैथुन सहज र आवश्यक यौन क्रियाकलाप हो । हस्तमैथुनसँग सम्वन्धित कुनै पनि भ्रममा पर्नु हुँदैन । आफुलाई इच्छा लागेको समय र अनुकुल अवस्थामा हस्तमैथुन गर्नुपर्छ । यसले असुरक्षित यौन सम्पर्क हुने संभावनालाई थोरै भएपनि कटौती गर्छ ।

 

किशोरावस्थामा आउने अनेकन परिवर्तनहरूको बारेमा पूर्ण र पूर्व जानकारी दिनु उत्तिकै महत्वपुर्ण छ । किशोरावस्थामा प्रवेश गर्नु अगावै त्यस अवस्थामा आउने परिवर्तन र तिनीहरूको व्यवस्थापनसम्बन्धी सीप सिक्नु र सिकाउनु जरूरी छ । उदाहरणको लागि किशोरावस्थामा प्रवेश गर्ने बित्तिकै केटीहरूमा महिनावारी (रजस्वला) शुरु हुन्छ । पहिलो महिनावारी सबैको लागि अनौठो हुन्छ । पिसाब मात्र आइरहेको योनीबाट अकस्तमात् रगत बग्न थाल्छ । लगाएको लुगाहरूमा रातो रगत लाग्छ । साथीहरूले देख्ने र जिस्काउने ठूलो डर हुन्छ । त्यति मात्रै हो र, यो के भएको हो भन्ने नै थाहा नहुन सक्छ । यसले किशोरीहरूमा सहन नसक्ने मानसिक तनाव सृजना हुन्छ । त्यसैले यस्तो परिवर्तनको बारेमा महिनावारी शुरु हुनु अगावै जानकारी दिने र महिनावारी हुँदा ध्यान दिनु पर्ने कुराहरूको बारेमा ज्ञान र सीप लिनु/दिनुपर्छ । आजकल महिनावारी हुने उमेर घट्दै गएको पाइन्छ । शारीरिक स्वस्थता र पोषणयुक्त खानेकुराहरूको उपलब्धता बढ्दै गएको कारण १०–११ वर्ष देखि नै महिनावारी शुरु हुन्छ । त्यसो हुँदा ८–९ वर्षको उमेर देखि नै रजस्वलासम्बन्धी ज्ञान र रजस्वला हुँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी लिनु/दिनुपर्छ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments