रमादेवी, बालविवाह र स्वास्थ्य

रमादेवीको १३ वर्षको उमेरमा नै बिहे भयो । पहिले त विहे भए पनि छोरीको उमेर नपुगुञ्जेल माइतमा नै बस्ने चलन थियो तर आजकल त त्यो चलन पनि हरायो । त्यसैले, बिहे गर्ने वित्तिकै उनी श्रीमानको घरमा गइहालिन । १४ वर्षको हुँदा पहिलो बच्चा जन्मियो । झण्डै ३० घण्टा व्यथा लागेर छोरी जन्माइन । शुरुको महिनाहरूमा त बच्चा ठिकै जस्तो लागेको थिया, पछि त हातखुट्टा अररो हुने, दुह्रो हुने गर्न थाल्यो । छोरी अपाङ्ग जन्मि भन्ने थाहा भयो । छोरी जन्माएको त्यही पनि अपाङ्ग । घरमा सासु, ससुरा र परिवारका अरु सदस्यले हेला गर्न थाले । फेरी १६ वर्षको हुँदा अर्को छोरा जन्मियो,  सुत्केरी हुँदा न रामो सँग खान पाइयो न आरम नै । सुत्केरी भएको ११ दिन देखि नै गाईबस्तुको धन्दा र खेतवारीको काम गर्नु पर्ने । बच्चा २ वर्ष नपुग्दै फेरी अर्को बच्चा जन्मियो । के भयो मरेको बच्चा पो जन्मियो । जेठी छोरी ४ वर्ष हुँदा पनि हिडडुल गर्न सकिनन् । बल्लतल्ल अस्पताल जचाँउन लिएर जाँदा पो थाहा भयो कि लामो सुत्केरी व्यथा लाग्दा बच्चाको टाउको च्यापिएर दिमागमा असर परेर यस्तो भएको हो रे । अब निको हुदैन । जब उनी १९–२० वर्ष पुग्दै थिइन तल्लो ढाड बेस्सरी दुख्ने, पिसाब फेर्न अलि अप्ठ्यारो हुने, पिसाव फेर्दा पुरै ननिख्रिएको जस्तो हुन थाल्यो । श्रीमानसँग यौन सम्पर्क गर्दा पनि दुख्न थाल्यो । श्रीमानलाई सोधे उहाँले पनि खासै केही भएको होइनहोला भन्नुभयो । त्यतिकैमा बच्चा फेरी पेटमा आयो, बच्चा जन्माउने इच्छा नहुँदा नहुदै श्रीमान र परिवारको दवावमा अर्को बच्चा पाइन । २० वर्षको हुँदा ४ वटा बच्चा जन्माइसकिन रमादेवीले । छोरा जन्मिएकोले परिवारका नातेदारहरू त खुसी नै भए । तर ११ दिनमा नवरान गरेपछि फेरी गाइवस्तुको धन्दा, घाँस, खोले दिने गर्न थालिन उनले ।

समय वित्दै जादा उनको ढाड दुख्ने विराम बढ्यो । चामल केलाउन टुसुक्क बस्दा पिसाब फेर्ने ठाउँमा केही मासु तल झरे जस्तो लाग्न थाल्यो । पिसाव फेर्न पनि गाह्रो हुन थाल्यो । त्यसपछि सासुलाई आफ्नो समस्याको बारेमा बताइन । सासुको त झन पाठेघर नै बाहिर आएको रहेछ ।

बच्चा जन्माएको महिलाको यस्तै हो भन्ने जवाफ पो पाइन । श्रीमानलाई भनिन श्रीमानले सुरुमा केही होइन भने तर जब यौन सम्पर्क गर्दा दुख्न थाल्यो र कराउन थालिन त्यस पछि मात्र अस्पताल लगे। अस्पतालमा चिकित्सकले जाँच गरेपछि थाहा भयो, पाठेघर र पिसाबको थैली आफ्नो साविकको ठाउँ छोडेर तल झरेको । आङ्ग खसेको भनेको यही हो भनेर डाक्टरले भने तर रमादेवीलाई केही थाहा भएन । किन यस्तो भएको भनेर सोध्दा डाक्टरले सानो उमेरमा धेरै वटा बच्चा जन्माएर हो भने । सानै उमेरमा बच्चा जन्माउदा किन यस्तो हुन्छ ? यसको उत्तर अर्को दिन ..........

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments